
सर्लाही : सर्लाहीमा भीषण आगलागी हुँदा ठूलो मात्रामा धनमालको क्षति भएको छ।
जिल्लाको बरहथवा नगरपालिका–७ का किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो।
आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको अनुमान छ। नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन।
गएराति साँढे ११ बजेतिर सुरु भएको आगलागी आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको बरहथवा प्रहरीले जनाएको छ।
स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।