
रौतहट : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कर आतंक मच्चाएको आरोप लगाएका छन्।
दीपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिराउमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले ओली सरकारले मनोमानी कर उठाएको आरोप लगाएका हुन्।
‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गइरहेको छ । सँगसँगै हरेक वस्तुमा प्रधानमन्त्री ओलीले करमाथि कर लगाउने र नागरिकलाई लुट्ने काम गरिरहेको छ’, अध्यक्ष साहले भने, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि सामान सस्तोमा पाउने तर नेपालमा किन त्यही सामान महँगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? यहाँ ओली सरकारले करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिध्याएको कारण महँगी बढेको हो।’
सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले निजी सम्पत्ति लुटिरहेको उनले गम्भीर आरोप लगाए।
सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाइरेको पनि साहले आरोप लगाए। विभिन्न ठूला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको उनको आरोप थियो।
‘अहिले सरकारी आतंक मचिएको छ। सरकारले सत्तारुढ दलका अपराधी, भ्रष्टहरू जोगाउने काम मात्रै गरेको छ। सत्तारुढ दलका नेताहरू नाँगै हिँड्दा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दु:ख दिने काम गरिरहेको छ।’ साहले भने, ‘गाउँदेखि शहरसम्म सत्तारुढ दलको आतंक मच्चिएको छ । प्रहरी प्रशासनदेखि सबै क्षेत्रमा सरकारी आतंकले सर्वसाधारण नागरिकले दु:ख पाइरहेका छन् ।’
आजपा ईशनाथ कमिटीद्वारा आयोजित कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, स्थायी कमिटी सदस्यहरू श्रीभगवान् पटेल, नरेश तुरहा, लालबाबु मन्सुरी लगायतका सदस्यहरुको सहभागिता रहेको थियो।