लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका- १६ भोर्लेनी जङ्गलमा मोटरसाइकल र कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
आज दिउँसो सवा १२ बजेतिर रानीगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको बा.१२ च. ६८६४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना. ६१ प.६५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१५ परवानीपुरका पाल्साङ्ग योन्जन र उनका पाँच वर्षीय छोरा प्रयास र वृद्ध दामामाया योन्जन घाइते भएका छन्।
ठक्करबाट घाइते भएकाहरूलाई सोही कारमा राखी उपचारका लागि मोडल अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
दुर्घटनामा परेको कार चालक लालबन्दी-७ बस्ने ३१ वर्षीय उमाशंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।