गोडैता : महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वरको जंगलमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छ्न्।
महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना. ४ त. ६८२३ नम्बरको ट्याक्टरलाई ना. ८ ख. ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा ट्रलीमा सवार सर्लाही ईश्वरपुर–१२ (घारिबथान) का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
ठक्करबाट महोत्तरी बर्दीबास-७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर-१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छ्न्।
घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भुलवश यसअघि राखिएको शीर्षक सच्याइएको छ- सम्पादक