लालबन्दी : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्गको जंगलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पल्टेर बसेको धान काट्ने थ्रेसर मेसिनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीएसी ५६०३ नम्बरको कारले ठक्कर दिँदा थ्रेसरमा काम गर्ने एक जनाको मृत्यु भएको घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीले सर्लाही न्युजलाई जानकारी दिए।
आज आइतबार साँझ सवा सात बजे उक्त दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार उक्त बागमती र चपुरको जंगलको बीचमा पल्टिएको थ्रेसर निकाल्ने क्रममा बागमतीतिरबाट तीव्र गतिमा आएको कार थ्रेसरको पछाडि ठोक्किएको थियो।
उनका अनुसार कारमा एक जना मात्र सवार रहेको र मृत्यु हुने थ्रेसरको खलासी रहेको बुझिएको छ।
रौतहट जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक रायका अनुसार मृतकको सनाखत भएको छैन। ठक्कर दिने चालक र कारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। शव भने चन्द्रपुर अस्पतालमा राखिएको र गौर पठाउने तयारी भइरहेको उनले बताए।