धनकौल : हिजो आइतबार साँझ सवा सात बजे रौतहटस्थित पूर्वपश्चिम राजमार्गमा भएको थ्रेसर दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ।
पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायका अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चिम राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोक्किएको थियो।
धान काट्ने उक्त थ्रेसर मेसिनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीएसी ५६०३ नम्बरको कारले ठक्कर दिएको थियो।
दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका-२ घर भएका कार चालक दल्लु बनसललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान बढाएको छ।
गिरीको शव भने चन्द्रपुर अस्पतालमा राखिएको छ।