बलरा : हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना, युवकको मृत्यु

हरिवन : सर्लाहीको बलरामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

बलरा नगरपालिका १ मिर्जापुर हथिऔलमा दक्षिणबाट उत्तरतिर आउँदै गरेको बीआर३० एस ९३०६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित हुँदा सोही ठाउँको नहरगन्ज बस्ने २० वर्षीय राजीप सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो।

हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको र चालकको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटना परेर दुवै खुट्टा र अनुहारमा चोट लागेका सहनीलाई बलरामै रहेको धुलिखेल अस्पतालमा सामान्य उपचारपछि नेसनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनस्थित भरतपुर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो।

सहनीको शव प्रादेशिक अस्पताल मलंगवा ल्याउने कार्य भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै