
महोत्तरी: जिल्लाको गौशाला नगरपालिकामा यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई नागरिक अभिनन्दन गरिने भएको छ।
गौशाला नगरपालिका वडा नं.११ का स्थानीयहरूले सोमबार (भोलि) महतोलाई नागरिक अभिनन्दन गर्ने तयारी गरेका हुन्।
वडा नं. ११ का वडाअध्यक्ष रामप्रित महतो कोइरीले आज पत्रकार सम्मेलन गर्दै नेपाललाई विश्वसमक्ष चिनाउन सफल चेली पूजालाई सम्मानस्वरूप नागरिक अभिनन्दन गर्ने जानकारी गराए।
नगरपालिकाको इमलीबजारबाट शुरु हुने विजयी यात्रा गौशाला नगरपालिकाको नगर परिक्रमा गर्दै पुनः इमलीबजारमा समापन गर्ने तयारी गरिएको वडाध्यक्ष कोइरीले जानकारी दिए।
नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति महोत्तरीले पूजालाई हिजो ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो। पूजालाई घरमै पुगेर उक्त सम्मान गरिएको हो। पूजाको घर गौशाला नगरपालिका वडा नम्बर ९ डुमरवनामा पर्छ।
संयुक्त अरब इमिरेट्समा आयोजना भएको एसियाली छनोट प्रतियोगिता जित्दै नेपाल सन् २०२५ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा प्रवेश पाएको थियो।
आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्सलाई स्तब्ध पारेको थियो।
प्रतियोगिताभर उनले कप्तानी इनिङ खेलेकी थिइन्। जसमा दुई सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन्।