ईश्वरपुर : सर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी महिलाको उपचार क्रममा आज मृत्यु भएको छ।
गत कार्तिक २५ गते ईश्वरपुर नगरपालिका–६, धन्जोरटोलमा खाना पकाउने क्रममा स्थानीय ३८ वर्षीया नैमुन खातुन घाइते भएकी थिइन्।
उक्त घटनामा उनकी १९ वर्षकी छोरीलाई पनि आगोले पोलेको थियो।
खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा आमाछोरी घाइते भएका थिए।
उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराइएको थियो। उपचारकै क्रममा आज सोमबार खातुनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाइते छोरी भने उपचारपछि घर फर्केकी छन्।