क्रिप्टो करेन्सी र हुण्डी कारोबारबाटै वर्षमा १० करोड कारोबार, काठमाडौँबाट पक्राउ

जनकपुरधामः हुण्डी कारोबारको आरोपमा ९ लाख रुपैयाँसहित पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्दा १० करोडको ‘अवैध’ कारोबार खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हुण्डी कारोबार गरेको सूचनाका आधारमा यही वैशाख ३ गते स्थायी ठेगाना धनुषाको धनुषाधाम गाउँपालिका–५ घर भएका २३ वर्षीय खेतानलाई पक्राउ गरेको थियो।

काठमाडौं महानगरपालिका–१३ ताहचल बस्दै आएका खेतानलाई उनकै पसलबाट प्रहरीले पक्राउ गरेको थियो। रन्जना कम्प्लेक्सको तेस्रो तलामा फेसन पेसन स्टोर नामक कपडा पसल सञ्चालन गर्दै आएका खेतान ९ लाखसहित पक्राउ परेका थिए्।

२४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा पछिल्लो एक वर्षमा मात्रै उनले १० करोडको ‘अवैध’ कारोबार गरेको देखिएको छ। उक्त रकमका साथै २३ पन्ना क्रिप्टो करेन्सीको विवरण समेत प्रहरीले फेला पारेको थियो भने मोबाइल समेत बरामद गरेर प्रहरीले अनुसन्धान बढाएको थियो। सो क्रममा १० करोडको कारोबार देखिएको खुलेको हो्।

अध्ययनका लागि एक वर्षअघि भारतमा रहँदा क्रिप्टो करेन्सीबारे जानकारी पाएर कारोबार सुरु गरेको खेतानले बताएका छन्। बिनान्स एप्लिकेसन डाउनलोड गरेर क्रिप्टो करेन्सीको कारोबार खेतानले गरेको देखिएको अनुसन्धान अधिकृतले बताएका छन्।

भारतमा रहँदा बिक्की महतो भन्ने साथीले आफूलाई क्रिप्टो करेन्सीबारे सिकाएको उनको दाबी छ। पछिल्लो एक वर्षदेखि नेपाल र भारतमा रकम आवश्यक पर्ने मानिसहरुलाई रकम दिने–लिने काम समेत गरेको उनको भनाइ छ। अनुसन्धानबाट खेतानले हुण्डीको कारोबार गर्ने गरेको क्रिप्टोमार्फत समेत हुण्डीको रकम विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा पठाइएको प्रतिवेदनअनुसार हुण्डीको रकम लिन–दिनका लागि विभिन्न कोडहरू प्रयोग गरेर खेतानले काम गरेको समेत उल्लेख छ। ह्वाट्स एपमा विभिन्न रकमका फोटाहरु आदान प्रदान गर्ने र भारतमा रहेका विक्कीले भनेअनुसारका मानिसहरुलाई रकम दिने–लिने गरेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

हुण्डीका लागि रकम लिँदा–दिँदा भेरिफाई गर्न रकमका नोटहरू प्रयोग गरिएको खुलेको छ। खेतानले बिनान्स एप्लिकेशनमार्फत क्रिप्टो करेन्सीमार्फत ६ करोड १९ लाख ३५ हजार २६१ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

अर्को ओकेएक्स एप्लिकेशन समेत इन्सटल गरेर क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको छ। यो एप्लिकेशनमार्फत ४ करोड २१ लाख ४३ हजार २८५ रुपैयाँ कारोबार गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ। उनले क्रिप्टोमार्फत नै एक वर्षको अवधिमा १० करोड ४० लाख ७८ हजार ५४३ रुपैयाँ कारोबार गरेको देखिएको छ।

क्रिप्टोको अवैध कारोबार देखिएपछि उनलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २६२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ। उक्त दफा अनुसार रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ। प्रतिबन्ध लगाइएको मुद्रा चलन चल्तीमा ल्याइएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था उल्लेख छ।
अनलाइनखबरबाट

सम्बन्धित समाचार

सबै