भ्रष्टाचारविरुद्ध लड्न मधेशी जनता तयार छन् – प्रभु साह

वीरगन्ज : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचारविरुद्ध मधेश यात्रा’ पूर्ण रुपमा सफल भएको बताएका छन्।

अब छिटै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष पनि गरेका छन् ।

आजपा मधेश प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेश यात्रा’ अभियानको समापन गर्दै उनले भ्रष्टाचारविरुद्ध लडन मधेश तयार रहेको बताए ।

पूर्णरुपमा सफल भएको भ्रष्टाचारविरुद्ध अभियान अब छिट्टै अन्य प्रदेशहरूमा समेत हुने उनले बताए ।

आजपा अध्यक्ष साहको प्रमुख आथित्यमा सम्पन्न भएको अभियान भव्य रुपमा सम्पन्न भएको पार्टीको निष्कर्ष रहेको छ । अभियानमा बढदै गएको जनसहभागिताबाट उत्साही आजपाले भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने जनाएको छ ।

भ्रष्टाचारी, लुटेरहरुले मुलुकको ढुकुटी सिध्याएको, नेपाली जनतामाथि ऋण थोपारेको, मनोमानी कर बढाएकाले जनतामा जनचेतना जगाउन यस्तो अभियानको आवश्यकता रहेको आजपाको बुझाइ रहेको छ ।

मुलुकमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगीविरुद्ध आजपाले यात्राको क्रममा आवाज उठाएको छ ।

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी करलगायत विषयमा आवाज उठाउदै स्थानीय, सर्वसधारण एवं सरोकारवालाहरूसँग छलफलसमेत यात्राको क्रममा गरेको छ ।
आजपा प्रवक्ता एवं उपमहासचिव चन्द्रभुषण साहका अनुसार भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम सप्तरीबाट सुरु भएर पर्सा पुगेर समापन भएको हो ।

सप्तरीको राजविराजबाट सुरु भएको यात्रा पर्साको निचुटा पुगेर आमसभा गर्दै सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम १ मंसिरमा सुरु भई ५ मंसिरमा सम्पन्न भएको छ ।

भ्रष्टाचारविरुद्ध मधेशमा अभियान र सोही दिन काठमाडौंमा तीनै तहको सरकारको मनोमानी करविरुद्ध विरोध प्रदर्शन आजपाले गरेको थियो ।

मधेश र काठमाडौंमा एकै दिन छुट्टाछुट्टै दुई कार्यक्रम सम्पन्न गरेको आजपाले छिटै नै अन्य प्रदेशमा समेत विशेष अभियान सञ्चालन गर्ने तयारीमा रहेको छ ।

‘मंसिर १ गते सप्तरीबाट शुभारम्भ भएको हाम्रो मधेश यात्राको पहिलो दिन राज्य पक्षबाट भएको अप्रत्याशित एवं अस्वभाविक अवरोधका बाबजुद पनि आम न्यायप्रेमी जनसमुदायको न्यानो माया, प्रेम र आर्शिवाद सहितको स्वागत – सम्मान र अभुतपूर्व ऐक्यबद्धताले भ्रष्टाचारविरोधी हाम्रो संघर्षमा थप रक्तसञ्चार सृजना गरेको छ’ प्रवक्ता साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अभियानका क्रममा आमसभा, अन्तरक्रिया, बैठक, भेलाका साथै बिभिन्न कार्यक्रम सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा भएको छ । सो क्रममा दर्जभन्दा बढी ठाउँमा आमसभा, भेलाहरुका साथै सयौं व्यक्ति आजपामा प्रवेश गरेका आजपाले जनाएको छ।

विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता आजपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।

‘अभियानलाई सफल एवं सार्थक बनाउन नेतृत्वगणको निकासमुखी दिशानिर्देश, आईटी आर्मीको अथक सुरक्षा एवं समन्वयकारी भूमिका, कलाकारहरुको कारुणिक एवं मर्मस्पर्शी प्रस्तुतिहरू, पत्रकार साथीहरुद्वारा समयमैं सही सूचनाहरुको सम्प्रेषण तथा व्यवस्थापन टोलीको कुशल व्यवस्थापनले गर्दा अभियानमा थप रौनक एवं चारचान्द लगाएको ठहर सहित सम्पूर्ण सहयोगी एवं शुभेच्छुकहरूमा एकमुष्ट हार्दिक आभार सहित विशेष धन्यवाद समेत व्यक्त गर्दछौं’, आजपाले सबैलाई धन्यवाद दिएको छ।

सम्बन्धित समाचार

सबै