सर्लाहीबाट ८६ लाखको अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रण

बागमती : सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ।

बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख. ४१९० नम्बरको ट्रकबाट बिलबिजकभन्दा अधिक रु २० लाख ७५ हजार पाँच सय २७ बराबरको चिनियाँ लसुन बरामद गरेको हो।

यसैगरी, वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना. ७ ख. ९४६५ नम्बरको कन्टेनरबाट अवैध रूपमा ल्याइएका मोटरपार्टसका सामान बरामद भएका प्रहरीले जनाएको छ। प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिलबिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो।

वरामद ती सामान रु ६५ लाख ८६ हजार नौ सय ६१ बराबरका भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। ट्रक र कन्टेनरका गरी रु ८६ लाख ६२ हजार चार सय ८८ बराबरका अवैध सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ।

सम्बन्धित समाचार

सबै