बारामा क्याम्पस प्रमुखको हत्या आरोपमा थप एक जना पक्राउ

बारा : बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय सुरेन्द्र कुशवाहा रहेका जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका हुन्।

पक्राउ परेका कुशवाहाले नेपाली सेनामा १० वर्ष सेवा गरेर छाडेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनलाई बुधबार विराटनगरबाट पक्राउ गरेर बारा ल्याइएको र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सापकोटाले बताए।

गत जेठ ३२ गते क्याम्पसबाट घरतर्फ जाँदै गरेका कुशावाहामाथि बाराकै आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका उनी वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार क्रममा निधन भएका थिए।

सुरेन्द्रले जग्गा सम्बन्धी विवादमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी सापकोटाले जानकारी दिए।

यो घटनामा सुरेन्द्रसहित १७ जनाविरुद्ध किटानी जाहेरी परेको र त्यसमध्ये ८ जना हाल कारागारमा छन्। दुई जना धरौटीमा छुटेका छन्। बाँकी अझै फरार छन्।

सम्बन्धित समाचार

सबै