
लालबन्दी : सर्लाहीको लालबन्दीमा पर्ने चुरे क्षेत्रमा एकसाथ तीनवटा भालुले आक्रमणमा गर्दा एक पुरुष घाइते भएका छन्।
लालबन्दी नगरपालिका-१३ निवासी ५० वर्षीय मानबहादुर बम्जनलाई मंगलबार साँझ लालबन्दी-१३ स्थित चुरेको जंगलमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
लालबन्दी बजारबाट जंगलको बाटो घर फर्किँदै गर्दा आफूलाई एकसाथ तीनवटा भालुले आक्रमण गरेको बम्जनले बताएका छन्।
बम्जनको लालबन्दीस्थित एक क्लिनिकमा उपचार भइरहेको छ।
भालुको आक्रमणबाट उनको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको छ। भालुले आक्रमण गर्न थालेपछि आफूले रुखमा चढेर ज्यान जोगाएको थिए। रुखमा चढेर बसिरहेको बेला सोही बाटो भएर अरु बटुवाहरु आएपछि आक्रमण गर्ने भालु भागेको बम्जनको भनाई छ।
भालु भागेपछि रुखबाट ओर्लिएका बम्जनलाई आफन्तले अस्पताल पुर्याएका हुन्।