
सिरहा : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १ सय ३० किलो गाँजा फेला पारेको छ।
सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो।
प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको जनाएको छ। कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ।
स्थानीयका अनुसार दुर्घटना भएलगत्तै कार चालकले कारको नम्बर प्लेट र गाँजा निकालेर ट्याक्सीमा चढेर भाग्न खोजेका थिए। तर स्थानीयहरू भेला भएपछि चालक सबै छाडेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार कार कसको हो र गाँजा कहाँबाट कहाँ लगिँदै थियो भन्ने खुलिसकेको छैन।