सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

काठमाडौँ : पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टसले चुमेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुरले ५ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १८४ रन बनाएको थियो।

जनकपुरले १९.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा सुदूरले दिएको टार्गेट चेज गरेको हो।

खेलमा जनकपुरका लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। आशिफ शेखले ३३ रन बनाएका थिए। हर्ष थाकरले नटआउट रहँदै ३० रन जोडेका थिए।  मोहम्मद मोहसिनले ९ रन र जेम्स निसमले ४ रन मात्र बनाउन सके।

बलिङतर्फ स्कट कुगेलेइन, दीपेन्द्रसिंह ऐरी,साइफ जाइब र इशान पाण्डेयले समान एकएक रन लिएका थिए।

यसअघिको इनिङमा सुदूरपश्चिमका साइफ जाइबले ४३ बल फाल्दै ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए। विनोद भण्डारीले ४१ रन बनाएका थिए।

अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्।

बलिङतर्फ किशोर महतो र मोहम्मद मोहसिनले समान ३-३ विकेट लिएका थिए। यस्तै जेम्स नीशम र ललित राजवंशीले एकएक विकेट लिएका थिए।

क्वालिफायरमा पुगेका दुवै टोलीबीच भएको खेलमा जनकपुरमाथि जित निकाल्दै सुदूरपश्चिम फाइनलमा आइपुगेको थियो। तर अर्को पनि क्वालिफायर खेल्ने मौका पाएको जनकपुरले कर्णालीलाई पराजित गरेपछि फाइनल पुगेको हो।

उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा सुदूरपश्चिम विजयी भएको थियो। सुदूरपश्चिमले जारी एनपिएलमा मात्र १ खेलमा पराजय भोगेको थियो।

फाइनल खेल हेर्न बिहानैदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइँचो लागेको थियो।

सम्बन्धित समाचार

सबै