
काठमाडौँ : नेपाली कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्लाहीका नेता, कार्यकर्ताहरूले केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाएका छन्।
सभापति सिंहविरुद्ध २०८० फागुन १५ गते सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भई आदेश भएको भन्दै बर्खास्त गर्न माग भएको हो।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य पनि नरहने भएकाले जिल्ला सभापतिबाट बर्खास्त गर्न माग भएको हो।
कांग्रेस जिल्ला उपसभापति नवीनप्रसाद अधिकारी, क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीलगायतले सभापति सिंहविरुद्ध केन्द्रीय कार्यालयमा ज्ञापन पत्र दर्ता गराएका हुन्।
‘सुरेन्द्रप्रसाद सिंहलाई सभापति पदबाट बर्खास्त गरी कांग्रेसको विधानअनुसार नयाँ सभापति चयन गरियोस्,’ मंगलबार केन्द्रीय कार्यालय सानेपामा बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ।
सिंहलाई सभापतिबाट बर्खास्त नगरे केन्द्रीय कार्यालयमा धर्ना दिने र रिले अनसन बस्नेजस्ता दबाबमुलक कार्यक्रम गर्ने पनि उनीहरूले ज्ञापन पत्रमा चेतावनी दिएका छन्।
सिंहलाई सर्वोच्च अदालतले ठहर गरेको थियो। वन मासेर भ्रष्टाचार गरेको कसुरमा उनलाई सर्वोच्चले दोषी ठहर गरेको हो। उनी कानुनबमोजिम पार्टीको सदस्य बन्न पनि अयोग्य छन्। तर उनलाई केन्द्रीय कार्यसमितिले कुनै कारबाही गरेको छैन।