
लालबन्दी : राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीको प्रथम जिल्ला भेलाबाट सभापतिमा सरोज बानियाँ निर्विरोध निर्वाचित भएका छन्।
हिजो मंगलबार भएको भेलाबाट उपसभापतिमा रेखा खड्का, सचिवमा नवीन्द्र भटराई, सहसचिवमा धनोज चौधरी र सदस्यहरूमा दिवानी घिमिरे, रजिया खातुन र जितेन्द्र प्रसाद कुशवाहा निवार्चित भएका पार्टीका प्रदेश कोषाध्यक्ष चन्दन कुमार साहले जानकारी दिए।
जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा सांसद डा. तोसिमा कार्कीले रास्वपाको प्रतिस्पर्धा रास्वपाभित्रै रहेको, अरूसँगप्रतिस्पर्धा नभएको बताइन्। अरूले आफूहरूलाई लडाउन नसक्ने उनले जिकिर गरिन्।
केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित पदाधिकारीलाई कार्यकालको पूर्ण सफलाको सुभकामना दिए। रास्वपा सभापति रवि लामिछानेलाई थुनेर सरकारले राजनीतिक प्रतिशोध साँधेको उनले बताए। ‘कानुनको दुरुपयोग गरेर जति दुःख दिए पनि देशका जनतामा सभापति लामिछाने लोकप्रिय बन्दै गएका छन्,’ उनले भने।
कार्यक्रममा मधेश प्रदेशका सभापति ई. तपेशवर यादवले नवनिर्वाचित जिल्ला कार्य समितिको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै सर्लाहीका सबै पालिका तथा वडाहरूमा संगठन विस्तारको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए।
प्रथम जिल्ला भेला सदरमुकाम मलंगवास्थित महेन्द्र होटलमा भएको थियो। कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।