लालबन्दी : रौतहटमा मोबाइल चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्लाको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिका–६ का अच्छेलाल साहको घरमा बुधबार राति भएको थियो।
चोरी भएको मोबाइलको लोकेसन पत्ता लगाएर स्थानीयवासीले चोरीमा संलग्न चार जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएका छन्।
बुधबार राति करिब १२ बजेको समयमा साहको घरमा सुरुङ खनेर घरभित्र रहेका पाँच वटा मोबाइल, गरगहना र नगद २ लाखसहित कुल ५ लाखभन्दा बढीको सामान चोरी भएको थियो।
गाउँका युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै जाँदा फतुवा गाउँछेउको मठ नजिक चार जनालाई फेला पारेका थिए।
उनीहरूको साथबाट चोरी भएको मोबाइल, गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार स्थायी ठेगाना नखुलेका वर्ष ६५ का रामायण नट, वर्ष ६० का लक्ष्मण नट, वर्ष ३५ का मनोज नट र वर्ष ३४ का सुनिल नट पक्राउ परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।