
काठमाडौं : पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ।
गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ।
नेपाल भ्यूज डटकमका उप-सम्पादकका रुपमा कार्यरत उनी काम सकेर कार्यालयबाट कपनस्थित कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै उनी एक्कासी ढलेका थिए। तत्काल घरबेटी र छिमेकीले ट्याक्सीमा चावहिलस्थित अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरेका थिए।
हृदयाघातका कारण उनको मृत्यु भएको अनुमान छ।
नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता शुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइनमा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए।