गाउँपालिका उपाध्यक्षले फुटाइदिइन् अध्यक्षको गाडीको सिसा

काठमाडौँ : सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ।

आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन्।

बा.२ झ. ३६४३ नम्बरको गाडी ढुंगाले हानेर तोडफोड गरिदिएको उपाध्यक्ष सिंहले आफैँले स्वीकार गरेकी छिन्।

तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ।

कार्यालयमा लैजानका लागि आज बिहानै उपाध्यक्ष सिंहलाई गाउँपालिकाको गाडी जाँदा ढिला भएको भन्दै सिंहले सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताएका छन्।

‘बिहान ९ बजे फोन गरेर लिन आउन भन्नुभएको थियो, ड्राइभर खाना खान गएको थियो, केहीबेर ढिला हुँदा उहाँले अफिस आएर गाडी तोफोड गर्नुभयो,’ अध्यक्ष यादवले भने, ‘गाडी उहाँको घरमा स्टार्ट अवस्थामै थियो,तर उहाँ गाडीमा आउनुभएन, पछि मोटरसाइकलमा अफिस आएर तोडफोड गर्नुभयो।’

आफूले उपाध्यक्षलाई ड्राभइर आउँदै छ भनेर लिन पठाए पनि एकछिन ढिला भएकै कारण यस्तो घटना भएको अध्यक्ष यादवले बताए। यादवले भने, ‘हामी अफिसमा थियौं। गाडी किन गएन भनेर एक्कासि ढुंगा हान्नुभयो।’ उनका अनुसार उपाध्यक्ष सिंहले ढुंगा हान्दा चालक गाडीमै थिए।

अध्यक्ष यादवका अनुसार उपाध्यक्ष सिंह सधैं सोही गाडीमा कार्यालय आउने जाने गर्थिन्।

गत वर्ष पनि उपाध्यक्ष सिंहले गाउँपालिकाले दिएको भत्ताको रकम कम भएको भन्दै चेक च्यातेर दुःख दिएको यादवले बताए। ‘भत्ताको चेक पनि उहाँले च्यात्नुभएको थियो। एकचोटि प्रमुख प्रशासकीय अधिकृतको कोठाको ढोका पनि उपाध्यक्ष सिंहले फुटाएकी यादवले आरोप लगाए।

साथै १५ दिनअघि किसानले पाउनुपर्ने ५-६ सय बोरा मल पनि उपाध्यक्ष सिंहले नियन्त्रणमा लिएर थन्क्याएर राखेको अध्यक्ष यादवले बताए। ‘त्यतिखेर मल रोकेर राखेर अहिलेसम्म थन्क्याएर राख्नुभएको छ। १५ दिन भयो। ५-६ सयजति बोरा रोकेर राख्नुभएको छ उहाँले।’

उपाध्यक्षको क्रियाकलाप अराजक भएको र प्रशासनले केही कारबाही नगरेको भन्दै आफू छक्क परेको उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष यादव एमालेबाट निर्वाचित हुन् भने उपाध्यक्ष जसपाबाट।

यसबारेमा बुझ्न खोज्दा गाउँपालिका उपाध्यक्षसँग सम्पर्क हुन सकेन।

सम्बन्धित समाचार

सबै