जनकपुरधाम : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिवसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
तत्कालीन सहसचिव नम्रता सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सहलेखापाल ब्रजेश कुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मी नारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जित कुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकास कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
आर्थिक वर्ष २०७९/०८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरी नक्कली बिलका आधारमा भुक्तानी गरेको र स्पेसिफिकेशन अनुसारको सामान खरिद नभएको उजुरीका आधारमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको जनाएको हो।