बर्दिबासमा मोटरसाइकल जुध्दा दुई जना घाइते, एकको अवस्था गम्भीर

लालबन्दी : महोत्तरीको बर्दिबासस्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बिहीबार दिउँसो साढे २ बजेतिर बर्दिबासको गौतम होटल नजिकै मोटरसाइकल दुर्घटना भएको हो।

घाइते हुनेहरूमा धनुषा गणेशनाथ चारधाम नगरपालिका वडा नम्बर ६ गोदार घर भएका ३९ वर्षीय राकेशलाल कर्ण र  महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ का अन्दाजी १६ वर्षीय राहुल सिंह रहेका महोत्तरी प्रहरीले जानकारी दिएको हो।

बर्दिबासबाट लालबन्दी जाँदै गरेको ज१२प ७३१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बागमती प्र ०२-५४ प ६९८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो।

दुर्घटनामा घाइते भएका दुवैलाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि लगिएको छ।

१६ वर्षीया सिंहको अवस्था भने गम्भीर रहेको छ भने कर्णको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै