असई थमन विकको हत्या आरोपमा जन्मकैद पाएका सांसदको बचाउ गर्दै लोसपा

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैद सुनाइएका आफ्ना प्रदेश सांसद अभिराम शर्माको बचाऊ गरेको छ।

शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले प्रदेशसभासमक्ष पत्राचार गरेको हो। लोसपा मधेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सांसद शर्मालाई गरिएको निलम्बनको निर्णय सच्याउन सभामुख रामचन्द्र मण्डललाई पत्र पठाएका हुन्।

शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन्। असई विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। २०८० मंसिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो।

प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङको हकमा विचाराधीन रहेको अवस्थामा निलम्बन गर्न नमिल्ने भनी सर्वोच्चको २०८०/१२/१६ को नजीर देखाउँदै लोसपाले शर्माको मुद्दाको अन्तिम फैसला नहुन्जेल कुनै बन्देज लाउन नमिल्ने पत्रमा उल्लेख गरेको छ।

लोससा मधेशका उपनेता महतोले पत्रमा उल्लेख गरेका छन्, ‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१/०१/१८ को फैसलामा यहाँले प्रदेशसभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ। कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको व्यहोरा अवगत गराउन चाहन्छौं।’

जिल्ला अदालतले दोषी ठहर्‍याए पनि पुनरावेदनको अधिकार बाँकी नै रहेकाले निलम्बन गर्न नमिल्ने तर्क लोसपाले पत्रमा उल्लेख गरेको छ।

‘यो फैसला अन्तिम हुनको लागि अहिले समय बाँकी नै छ, यस्तो अवस्थामा मधेश प्रदेशसभाका सदस्य अभिराम शर्मालाई अहिले नै मधेश प्रदेश सभाको सदस्यबाट निलम्बन गर्न कानूनतः मिल्दैन’, पत्रमा भनिएको छ।

महोत्तरी क्षेत्र नं ३ (क) बाट शर्मा प्रदेशसभा सदस्यका रूपमा दोस्रो पटक निर्वाचित भएका थिए। उनले जसपाका दीपेन्द्र झालाई पराजित गरेका थिए। निलम्बित झा राज्यमन्त्रीसमेत भएका व्यक्ति हुन्।

सम्बन्धित समाचार

सबै