रौतहटमा हत्या गरेर सर्लाहीमा लुक्दै आएका प्रतिवादी ४० वर्षपछि पक्राउ

मलंगवा : हत्यापछि फरार रहेका एक जना प्रतिवादीलाई सर्लाही प्रहरीले ४० वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका- ९ (हालको ठेगाना राजदेवी नगरपालिका-९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन्।

जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठका अनुसार व्यक्ति हत्यापछि धर्म र नामसमेत परिवर्तन गरी उनी लुकिछिपी सर्लाहीमा बस्दै आएका थिए।

कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० वर्ष कैद तोकिएका सिंहलाई सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरबाट यही पुस २६ गते प्रहरीले पक्राउ गरेको हो।

रौतहटमा व्यक्ति हत्यापछि फरार रहेका उनी सर्लाहीको चक्रघट्टा घरबारसहित बस्दै आएकाे खुलेकाे हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

१६ वर्षको उमेरमा व्यक्ति हत्या गरेपछि फरार रहेका उनले अहिले आफूलाई महमद सेराजको रुपमा चिनाउँदै आएका थिए।

उनकी पहिली पत्नी सलिना खातुनबाट ६ सन्तानकाे जन्म भएकाे प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

उनकी पहिली पत्नी र तिनका सन्तान हाल काठमाडौँतिर बस्दै आएका स्थानीयले बताएका छन्।

सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन।

सम्बन्धित समाचार

सबै