
लालबन्दी : सर्लाहीसहित मधेश प्रदेशमा आज वर्षा भएको छ।
मंगलबार दिउँसो सर्लाहीका अधिकांश स्थानमा वर्षा भएको हो। लामो समयदेखि पानी नपर्दा जनजीवन नै कष्टकर बन्दै जान थालेको थियो। छिटफुट भए पनि आज मधेश प्रदेशमा वर्षा हुँदा राहत महसुस गरिएको छ।
मुलुकका विभिन्न स्थानमा हिजोदेखि वर्षा हुन थालेको छ। निरन्तर तातो हावाका चलेका कारण मधेशमा तापक्रम बढ्दो क्रममा रहेको अवस्थामा यो वर्षाले निकै राहत प्रदान गरेको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जसका कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भइरहेको छ। धेरै स्थानमा हलुका वर्षा भइरहेको छ।