
काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित सुनकोशी नदीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक बेपत्ता भएका छन्।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ ठेगाना भएका युवकको साथमा रहेको झोला र मोटरसाइकलको बिलबुक प्रहरीले नदीबाट निकालेको छ। सोहीको आधारमा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
दुर्घटनाबारे आफूहरूले ८ बजे थाहा पाएको र यसबारे थप अनुसन्धान भइरहेको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पनि दुर्घटना कतिखेर भएको हो जानकारी नभएको र युवकको शव खोजी भइरहेको जनाएको छ।
भेटिएको झोलामा रहेको बिलबुकमा बरहथवा नगरपालिका वडा नम्बर ७ ठेगाना लेखिएको छ भने सँगै प्रहरीले ज१०प २६०४ नम्बरको मोटरसाइकल नदीबाहिर निकालेको छ।