
बागमती : नेकपा माओवादी केन्द्र सर्लाहीले आज पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिकाको पुतलीचोकमा दुई घण्टाका लागि चक्काजाम गरेको छ।
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई झुटा वन मुद्दा दायर गरेर फसाउने षड्यन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्र सर्लाही अहिले आन्दोलित छ। चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत सो पार्टीले आज दुई घण्टा चक्काजाम गरेको हो। बन्द कार्यक्रममा पार्टीका जिल्ला नेता, कार्यकर्तालगायत ठूलो संख्यामा समर्थकको उपस्थिति रहेको छ।
यसअघि आइतबार डिभिजन वन कार्यालय लालबन्दीमा धर्ना कार्यक्रम र सोमबार जिल्लाको मुख्य ठाउँहरुमा मशाल जुलुस प्रदर्शन गरेको थियो।
आफ्ना पार्टीबाट निर्वाचित बागमतीका नगरप्रमुख, उपप्रमुखलगायतमाथि वन मुद्दा दायर गर्न लागिएपछि आन्दोलित माओवादीले आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार अनिश्चितकालीन चक्काजाम गर्ने कार्यक्रम तय गरेको सर्लाही माओवादीले जनाएको छ।
संघीय तथा प्रदेशको वन मन्त्रालयले बागमतीमा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) र आसपासको क्षेत्रमा बसेको बस्ती सागरमाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र पर्ने/नपर्ने भनी अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई पत्र पठाएको छ।
मन्त्रालयबाट पत्र प्राप्त भएपछि वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर पोखरी निर्माण भएको स्थल तथा आसपासको बस्ती वन क्षेत्रभित्र पर्ने/नपर्ने वा संरचना निर्माणका क्रममा स्वीकृत लिए/नलिएको अनुसन्धान सुरु गरेको छ।