
लालबन्दी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा बस पल्टिएको छ ।
लघुवित्त वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति मधेश प्रदेशको आयोजनामा बर्दीबासमा आयोजित कार्यक्रममा सरिक भएर फर्किदै गरेका महिला सवार ना. ७ ख. ३६४३ नम्वरको बस बाँके जङ्गलस्थित घारिबथान जाने चोकमा बिहीबार साँझ ७ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो।
बसमा सवार ३५ जना महिलामध्ये १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेहरूलाई उपचारका लागि लालबन्दीतर्फ पठाइएको छ । बस चालक भने फरार छन् ।