बारामा सुधार केन्द्रभित्र कुटपिटबाट एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ

बागमती : बारास्थित नवजन्म सुधार केन्द्रमा रहेका एक जनाको मृत्यु भएपछि सञ्चालक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहिबार राति सुधार केन्द्रभित्र राखिएका कलैया-९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको हो। केन्द्रमा विवाद उत्पन्न भएर कुटपिट गर्दा महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल लगिएको थियो। प्रादेशिक अस्पतालले मृत्यु भएको घोषित गरेको थियो।

अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

सम्बन्धित समाचार

सबै