
रौतहट : जनमत पार्टीका सांसद अब्दुल खान विवादमा तानिएका छन्।
पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्रीसमेत रहेका खानले दायाँबायाँ हतियारधारी राखेर फोटो खिचाएपछि विवादमा तानिएका हुन्।
उनी गौर आएका बेला जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसेदसहितको समूहले हतियार प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन्। सांसद खान शुक्रबार जिल्ला इन्चार्ज शेख जमसेदको घरमा पुगेका थिए।
सोही बेला खिचिएको तस्बिर र भिडियो जमसेदले शनिबार सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए। तर आलोचना हुन थालेपछि केही समयमै जनमत पार्टी रौतहटका इन्चार्जसमेत रहेका जमसेदले डिलिट गरेका थिए।
तर ती इजाजतप्राप्त हतियार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेष जमसेदसँग सोधपुछसमेत गरेको बताइएको छ।
लाइसेन्सप्राप्त हतियार भएकाले सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ। जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने बेला तस्बिर खिचिएको दाबी गरेका छन्।