
लालबन्दी : सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न सार्वजनिक गरेको मूल्यांकनमा ईश्वरपुरले १०० मध्ये ५६.३ अंक पाएको हो।
यस्तै पर्सा गाउँपालिकाले ५५.८ अंकसहित दोस्रो स्थान बनाएको छ भने लालबन्दी नगरपालिका ५५.१ अंकसहित तेस्रो भएको छ।
रामनगर गाउँपालिका ५२.६ अंकसहित चौथो स्थानमा रहँदा बलरा नगरपालिका ३४.५ अंक प्राप्त गर्दै कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ।
आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको थियो, जसमा बजेट पेश तथा पारित गर्ने समयसीमा, खर्च अवस्था, बेरुजु, लेखा परीक्षण प्रतिवेदन, स्थानीय सञ्चित कोषको प्रयोग, आवधिक योजना र राजस्व विभाजनजस्ता महत्वपूर्ण मापदण्डहरू समावेश छन्।