
लालबन्दी : जिल्लाको पर्सा गाउँपालिका-६ मङराहा पोखरीस्थित हुलाकी सडकखण्डबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
प्रहरी चौकी, पर्सा सर्लाहीबाट खटिएको प्रहरी टोलीले बुधबार भारतबाट नेपालतर्फ आउँदै गरेको ना४२प ४२७० नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागुऔषध बरामद गरेको हो।
मोटरसाइकलबाट वनरेक्स १ सय एमएल लेखिएका १७० बोतल र आरजेई स्किन १ सय एमल लेखिएको २४ बोतल गरी कुल १ सय ९४ बोतल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषधसहित मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-११ निवासी २६ वर्षीय मुकेश यादव र मोटरसाइकलमा पछाडि सवार १९ वर्षीय सञ्जीव महतोलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका दुवैलाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी गराइएको छ।
प्रहरीले लागऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।