धनुषाबाट बेलायत गएका युवक तीन सातादेखि सम्पर्कविहीन

धनुषा : बेलायतमा अध्ययनका लागि आएका एक विद्यार्थी करिब तीन सातादेखि सम्पर्कविहीन छन्।

सन् २०२२ को सेप्टेम्बर १७ मा युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न बेलायत आएका धनुषाको हंसपुर-६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ देखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ।

आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपाल परराष्ट्र मन्त्रालयमा अधिकारीका बाबु हरिनारायण मण्डलले निवेदन दिएका थिए।

लन्डनस्थित नेपाली दूतावासले अधिकारीको खोजीका लागि पहल गरिरहेको बताएको छ। लन्डन मेट्रो पोलिटन प्रहरी र स्थानीय समुदायसमक्ष अनुरोध गरिरहेको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जनाए।

‘बिचमा एक पटक अधिकारीकै हुलियासँग मिल्ने नेपाली भेटियो भन्ने खबर आएर हामी आफैँ पनि लन्डन ग्लोस्टररोडतिर गयौँ तर ती व्यक्ति अर्कै रहेछन्’ उनले भने।

दुवाडीका अनुसार अधिकारीको आनीबानीका कारण वेष्ट लन्डनमा घरबेटीले निकालेपछि उनी इलफोर्ड सेभेन किंग्स्का सुरज पण्डितसँग सम्पर्कमा आएका थिए।

पण्डितले नेपालीको बिचल्ली भयो बस्न दिनु पर्‍यो भनेर अर्को घरबेटीमा कुरा गरे तर उनको हाउभाउ र अवस्था देखेर राख्न मानेनन्। अनि पण्डित लगायत नेपालीले फेब्रुअरी २ मा रेल चढ्न बाटो खर्च जुटाएर पठाएयता उनी सम्पर्कमा छैनन्।

बेलायत आउने विद्यार्थीहरूमा अहिले थुप्रै खालका समस्या रहेको दूतावासले जनाएको छ। जुन सोचले बेलायत आउँछन् यहाँ आएपछि सोचेअनुरूप नहुँदा विक्षिप्त बन्ने गरेको प्रशस्त उदाहरणहरू छन्।

विदेश जानुअघि निकै सोचविचार गरेर मात्र आउन दूतावासको आग्रह छ।

सम्बन्धित समाचार

सबै