
लालबन्दी : सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सिंहले विदेशी दातृ निकायबाट आएका सहयोग र खर्चको विवरण सदनमा जानकारी गराउनुपर्ने बताए। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीयता कार्यान्वयनका लागि अमेरिकी सरकारले दिएको दुई करोड डलर वित्तीय अपराध भएको घोषणा गरेका थिए।
यस्तोमा सांसद सिंहले गैरसरकारी संस्थाहरूको नियमन गर्न र खर्च विवरणका विषयमा श्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिए। त्यस्तै, उनले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टमा परेका विषयमा अर्थमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने बताए।