मिथिला मध्यमा परिक्रमा आजदेखि शुरु

धनुषा : आजदेखि मिथिला मध्यमा परिक्रमा शुरु भएको छ।

बिहीवार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो। फागुन कृष्ण औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मूल डोला सञ्चालन गर्ने परम्परा रहेको छ।

डोलामा सीतारामको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ। मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवत् रूपमा शुरुवात गर्ने परम्परा रहेको मिथिला विहारी कचुरी मठका महन्थ रामनरेश शरणले बताए।

मिथिला विहारी मठबाट निकालिएको मिथिला विहारीको डोला आज जनकपुरधामस्थित हनुमान नगरमा विश्राम गरिन्छ। परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु शुक्रवार बिहान पूजा अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन्।

आज मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कचुरी मिथिला कचुरी मठमा सम्बोधन गर्दै जनकपुर क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउनुपर्ने बताएकी छन्। उनले धार्मिक क्षेत्रलाई व्यवस्थित गरेर अझ बढी धार्मिक पर्यटन भित्र्याउन सकिने सुझाव दिइन्।

यसका साथै नेपाल र भारतका विभिन्न धार्मिक स्थललाई जोडेर एउटै मार्ग निर्माण भएमा धेरै सहज हुने बताइन्। यसले दुईदेश बीचको कूटनीतिक सम्बन्ध समेत सुमधुर बनाउने बताइन्।

सम्बन्धित समाचार

सबै