
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख ८ हजार २ सय २९ किलोग्राम धान आयात भएको छ ।
गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । “गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।”
कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आर्थिक वर्षको सात महिनामा यो नाका हुँदै एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।
जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।