रिंकु मृत्यु प्रकरण : वडासदस्य र बलात्कार गर्नेका बुवासहित ४ जना पक्राउ

सप्तरी : सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडासदस्यसहित थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वडासदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जना छन्। नाम नखुलेका ती व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गर्नेमध्ये एक राम विनय मण्डलका बुवा रहेको खुलेको छ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहित व्यक्ति पक्राउ परेको पुष्टि गरेका हुन् । उनले भने, ‘पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन । आएपछि विस्तृत विवरण दिन्छौँ ।’

गत माघ २७ मा शौच गर्न बाहिर निस्केकी रिंकुमाथि बलात्कार भएको थियो। उनले आफू बलात्कृति भएको र नामै किटान गरेपछि स्थानीयस्तरमै उक्त मुद्दा मिलाउने प्रयास भएको थियो।

बलात्कार गर्नेहरूलाई वडादस्यसहित गाउँको भेलाले जरिवाना तोकेको थियो। तर आरोपीहरूले गाउँमा बसेको पञ्चायतले चर्को रकम जरिवाना तोकेको भन्दै नतिर्ने बताएका थिए। उनीहरूले रिंकुको घरमा गएर परिवारलाई दबाब पनि दिएका थिए।

पञ्चायत बसेको केही घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान बढाएको थियो । तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी परेको छ ।

पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ ।

जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन् । यसबाहेक उजुरी परेका तीन जना अझै फरार छन्

सम्बन्धित समाचार

सबै