धनुषा सुत्केरी मृत्यु घटनाः १३ लाख रुपैयाँमा मिल्यो कुरा

जनकपुरधामः धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि निम्तिएको विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा सुल्झाइएको छ।

शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो।

शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले सोमबार बिहान ९ बजेदेखि अस्पतालमा तोडफोड गरेका थियो। त्यस क्रममा प्रदर्शनकारीले अस्पतालको मूलगेटमा टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए।

मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रियाबाट अनिताले छोरा जन्माएकी थिइन्। शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा अवस्था बिग्रिँदै गएर सोमबार बिहान अनिताको मृत्यु भएको यादवको भनाइ छ।

शल्यक्रियाको बेला एनेस्थेसियाका चिकित्सक नभई सिकारुले बेहोस गरेकाले विस्तारै अवस्था गम्भीर हुँदै मृत्यु भएको परिवारजनको आरोप छ।

घटनापछि अस्पतालमा तोडफोड र आन्दोलनको कारण सोमबार अपराह्नसम्म अवस्था तनावग्रस्त बनेको थियो।

मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा मृतकको किरिया खर्च बापत ३ लाख ५० हजार र तीन छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ दिने र श्रीमानलाई योग्यताअनुसार जागिर दिने सहमति भएको एक आफन्तले बताए।

अस्पतालका निर्देशक धर्म सुवेदीले उपचारमा लापरवाही नभएको दाबी गरे। तर अस्पतालमा तोडफोड हुँदा प्रहरीले सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरिएको उनको भनाइ छ।

‘शल्यक्रियामा डाक्टरको कुनै कमजोरी छैन। जबरजस्ती तोडफोड गरेपछि प्रहरीले पनि केही गरेन’, निर्देशक सुवेदीले भने, ‘यस्तो बेला के गर्ने बाध्यता हो।’ सहमतिपछि मृतकका परिवारले शव बुझेका छन्।

सम्बन्धित समाचार

सबै