लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरस्थित एक पोखरीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य आज बिहानैदेखि पुनः सुरु गरिएको छ ।
लालबन्दी नगरपालिका–११, हीरापुरका देवेन्द्र ठाकुरका १५ वर्षीय छोरा राजु ठाकुर हिजो (आइतबार) अपरान्ह ४ बजेदेखि बेपत्ता भएका हुन् ।
अत्यधिक गर्मी भएपछि राजु आफ्ना साथीहरूसँग पौडी खेल्न जियाजोर पुगेका थिए । सो क्रममा स्थानीय एक किसानले आफ्नो निजी जग्गामा खनेको पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका हुन् ।
साथीहरूसँग पौडी खेल्न गएका अन्य तीन/चार जना किशोर सकुशल बाहिर निस्कन सफल भए पनि राजु भने पानीमा डुबेर बेपत्ता भएका स्थानीयले बताएका छन् ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले हिजो राति अबेरसम्म खोजी गरेको थियो । तर, हिजो बालकको अवस्था पत्ता लाग्न नसकेपछि आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।
अहिले गोताखोरसहितको विशेष टोली परिचालन गरी बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।