गौर : रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा खयरका रूख मासेर खेत बनाउने काम बढेपछि डिभिजन वन कार्यालय रौतहटले निगरानी बढाएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार अवैध रूपमा वन फाँड्नेलाई कानुनी दायरामा ल्याउने काम अघि बढाइएको छ।
साहका अनुसार बगर अतिक्रमणको समस्या समाधान गर्न समय लाग्ने भए पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन दृढ संकल्पका साथ विभाग लागिपरेको छ।
आइतबार बिहान वन गस्ती टोलीले वृन्दावन नगरपालिका–४ हरैयाका स्थानीय बिल्टु राय यादवलाई खयरघारी वन क्षेत्रमा झाडी बुट्यान फाँडिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
वृन्दावन सब डिभिजन वन कार्यालय बलेरीका वन अधिकृत ललन राउत कुर्मीका अनुसार यादवले पूर्वमा बागमती नदी, पश्चिममा भँगालो, उत्तर र दक्षिणमा खयरघारी र ऐलानी खेतवारी घेरिएको लगभग ०–५–० कठ्ठा क्षेत्रफलको वन क्षेत्रमा खुकुरी प्रयोग गरी अतिक्रमण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
डिभिजन वन कार्यालय प्रमुख साहले यादवमाथि वन अतिक्रमण ऐन २०७६ अनुसार कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिए। साथै बगर अतिक्रमणको दीर्घकालीन समाधानका लागि जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक आह्वान गरी रणनीतिक उपाय खोज्ने तयारी भइरहेको उनले बताए।