
लालबन्दी : सर्लाहीमा भारी वर्षा भईरहेको छ ।
सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा बिहान ३ बजेदेखी मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज दिउँसो कोसी प्रदेश र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति पनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।