
सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति आगलागी भएको छ।
आत्माराम रायले सञ्चालन गरेको तेल उद्योगमा राति करिब ११ः५० बजे भीषण आगो लागेको थियो । आगलागीको खबर पाउँनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो।
प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीका कारण उद्योगमा भण्डारण गरिएको तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तथा अन्य सामग्रीहरू पूर्वरूपमा जलेर करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । यद्यपि, घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन ।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।