सर्लाही : सर्लाहीको कविलासी नगरपालिका–४ हेमपुरमा फुसको गोठमा आगलागी हुँदा एक पाडीको जलेर मृत्यु भएको छ । आगलागीका कारण गोठसमेत पूर्णरूपमा नष्ट भएको छ ।
स्थानीय कैलाश रायको गोठमा मंगलवार राति आगलागी भएको हो । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएको आगोले गोठमा भीषण रुपमा फैलिँदा यस किसिमको क्षति भएको हो ।
प्रहरीका अनुसार गोठभित्र रहेको एक भैंसीको टाउको र पेट जलेर करिब २५ प्रतिशत क्षति पुगेको छ । त्यस्तै दुई पाडीमध्ये एकको ९० प्रतिशत भाग जलेको अवस्थामा भेटिएको छ भने अर्काे पाडी जलेर घटनास्थलमै मृत्यु भएको छ।
आगलागीका बारेमा जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछियाबाट प्रमुख सई ओम प्रमोद साहको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा मानवीय क्षति नभए पनि पशु तथा संरचनात्मक गरी करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
पाडीहरूको अनुमानित मूल्य करिब ४५ हजार र गोठको मूल्य करिब ५ हजार रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीको क्षेत्रभित्र पर्ने भएकाले त्यहाँबाट प्रहरी निरीक्षक सुधिर कुमार साहको नेतृत्वमा मुचुल्का टोली पनि परिचालित गरिएको छ ।
घटना भएको स्थान अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछियाबाट करिब ५०० मिटर पश्चिम–उत्तरतर्फ पर्दछ।


