बागमती : सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा आज सुनुवाइ भए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त मुद्दामा भोलि बिहीबार थापाका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते थापाविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पहिलो मुद्दामा अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घररजग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा र ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार रुपैयाँ खर्च तथा लगानी भएको देखिएको थियो ।
जसमध्ये पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको थियो ।
यस्तै अख्तियारले ३० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै दोस्रो मुद्दा दायर गरेको थियो ।