रौतहट : रौतहटको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एक बालकको शव फेला परेको छ।
पछिल्लो ५ दिन देखि हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको १४ वर्षीय छोरा कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।
बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले बताएको छ। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ।
गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए। ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछि गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो।
बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ।