
लहानः सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ।
आज बिहान ८ बजे जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेर हत्या गरी फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै सिरहा प्रहरी प्रमुख एसएसपी रमेश पण्डितले जानकारी दिए। मृत्यु हुनेमा ५३ वर्षीय बुधराम महतो छन्।
बुधराम खेतमा खर लिन ट्याक्टर लिएर पुगेका बेला बिहीबार बिहान सवा ८ बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेका स्थानीयले बताएका थिए। बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।
घटनापछि बचाई महतो फरार भएका छन्। प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो। बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए।
मृतक महतो विष्णुपुर चोकमा ग्यास सिलिन्डर र बालिनालीको औषधि तथा बीउबिजनको व्यवसाय सञ्चालन गर्दै आएका थिए। कोदालो प्रहार गर्ने बचाईको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।