वीरगञ्ज : पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपहरू सबै बालवालिकाले पूर्ण रूपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो।
मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले बिहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका थिए।
उनले पूर्ण खोपयुक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहलाई संयुक्त रुपमा प्रदान गरेका थिए।
पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने अभियान २०७४–सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियो। स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपहरू सबै बालबालिकाले पूर्ण रूपमा लिएसँगै यस्तो घोषणा गर्न सफल भएको बताए। ‘पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न निकै कसरत गर्नुपर्यो। सबैको साथ सहयोगको कारणले मात्रै यो घोषणा गर्न सकिएको हो’, उनले भने, ‘मधेस प्रदेशमा पूर्ण खोप जिल्ला घोषणा गर्न चार जिल्ला मात्रै थियो। आज हामीले पूर्ण खोप जिल्ला घोषणा गरेर नयाँ यात्राको सुरुवात गरेका छौँ।’
पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो। तर, पकहामैनपुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो।
मधेस प्रदेशका धनुषा, रौतहट र महोत्तरी जिल्लालाई अझै पनि पूर्ण खोप जिल्ला घोषणा गर्नै बाँकी छ। मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादवले मधेश प्रदेशमा पूर्ण खोप घोषणा गर्न चार जिल्ला बाँकी रहेकोमध्ये पर्साले पूर्ण खोप जिल्ला घोषणा गरेर सकारात्मक सुरुवात गरेको बताए।
सचिव यादवले प्रदेश सरकारले एक वर्षअघि महत्वाकांक्षी लक्ष्य राखेर चार वटै जिल्लाई पूर्णखोप जिल्ला बनाउने अभियान थालेको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले पूर्णखोप जिल्ला घोषणा गरे पनि अझै पनि चुनौती कायमै रहेको बताए।