सर्लाही : सर्लाहीको पर्सा गाउँपालिका–५ मा सामान्य विवादलाई लिएर उत्पन्न साम्प्रदायिक तनावले समाजिक सद्भावलाई गम्भीर चुनौती दिएको छ । शनिबार बिहान करिब पौने ११ बजे सुनका गरगहना बनाउने विषयमा विवाद हुँदा दुई जनालाई सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ ।
हनुमान बजार निवासी अन्दाजी ६० वर्षीय राजेन्द्र साह सोनार र ५२ वर्षीय तस्लीम अन्सारीबिच सुनको विषयमा विवाद हुँदा त्यसले उग्र रूप लिएको थियो । तस्लीम अन्सारीसहित उनका भाइ सलिम अन्सारीलाई स्थानीय केही व्यक्तिले अपमानजनक तरिकाले सुँगुरको खोरमा राखेर कुटपिट गरेका हुन् । पीडित अन्सारी परिवारका अनुसार शनिबार बिहान राजेन्द्र साह सोनारसँग सुनसम्बन्धी लेनदेनमा विवाद भएको थियो । यस्तोमा उनले केही स्थानीयलाई उक्साएर अमानवीय व्यवहार गराएका परिवारको दाबी छ ।
घटनाबारे जानकारी पाएलगत्तै दिउँसो २ बजे प्रहरी चौकी पर्साबाट सई मेथुल यादवको नेतृत्वमा ५ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको नेतृत्वमा ११ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पप्पु कुमार यादव (२७), राहुल कुमार महतो (२४), कमलेश साह सोनार (२५) र राजेन्द्र साह सोनारसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । तस्लीम अन्सारी र दिल महम्मद अन्सारीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थपी हिरासतमा राखिएको छ ।
शनिबार राति ९ बजे फेरि दुई समुदायबिच थप विवाद उत्पन्न भएको थियो । मुस्लिम समुदायका व्यक्तिले हिन्दु समुदायका व्यक्तिलाई झापड हानेको आरोप लगाउँदै विवाद उत्पन्न भएको थियो । यस घटनामा समेत दुवै पक्षका ६ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले घटनामा संलग्न दोषीहरूविरुद्ध कडा कारबाही हुने बताएका छन् । उनले कानुन हातमा लिई यस्तो अपमानजनक व्यवहार गर्नु कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
यस घटनापछि सामाजिक तथा राजनीतिक क्षेत्रबाट तीव्र प्रतिक्रिया आएको छ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यस घटनालाई ‘सामाजिक एकता र सहिष्णुतामाथिको गम्भीर आक्रमण’ भन्दै कडा आक्रोश व्यक्त गरेका छन् ।
उनले भने, ‘समाजमा घृणा र विभाजन फैलाउने यस्ता आपराधिक मानसिकताका व्यक्तिहरूलाई राज्यले क्षमा गर्नु हुँदैन । दोषीमाथि अविलम्ब कडा कारबाही गरिनुपर्छ ।’
पार्टीको प्रेस विभागद्वारा जारी विज्ञप्तिमा जात, धर्म, वर्ग वा विचारका आधारमा कसैलाई अपमानित गर्ने कार्य सम्पूर्ण राष्ट्रको हार भएको उल्लेख गर्दै, सम्पूर्ण न्यायप्रेमी नागरिक, नागरिक समाज, राजनीतिक दल र मिडियालाई आवाज उठाउन आह्वान गरिएको छ ।
सर्लाहीको पर्सा गाउँपालिकामा भएको यस घटनाले मुलुकको सामाजिक सद्भावमा गम्भीर असर पारेको भन्दै आम नागरिक र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष अनुसन्धान र दोषीउपर कडा कारबाहीको माग गरेका छन् ।