
जनकपुरधामः भोलि शुक्रबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन पर्ने जानकी (सीता) जयन्तीको अवसर पारेर प्रदेश सरकारले बिदा दिएको हो। मधेश प्रदेशको वार्षिक क्यालेन्डरअनुसार शुक्रबार सार्वजनिक बिदा दिन लागिएको हो।
त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ। माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ। जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ।
सीता जयन्तीका अवसरमा जनकपुरधामलगायत देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्छ।
भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताको उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ।
यसैबीच जानकी सीता जन्मोत्सवको दिनलाई स्मरण गर्दै वैशाख शुक्ल नवमीको अवसरमा धुमधामका साथ मनाइने तयारी जानकी मन्दिरले गरेको छ। जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले वैशाख नवमीका दिन जेठ ४ गते जानकी प्राकट्य जन्मोत्सवलाई हार्षोउल्लासका साथ मनाउनका लागि आग्रह समेत गरे।
‘नवरात्रिको सातौँ दिनसम्म पनि विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको छ, नवौँ दिन अर्थात् जानकी नवमीका दिन विभिन्न धार्मिक अनुष्ठानका साथ जानकी प्राकट्य जन्मोत्सव धूमधामका साथ मनाइने भएकोले सबैलाई दर्शनका लागि आग्रह समेत गर्दछु,’ महन्त दासले भनेका छन्।
सो अवसरमा जेठ ४ गते नौ दिनमा बिहान ५ बजे दूधमतिमा शाही स्नान गरिने छ भने सोही दिनको १२ बजे आरती महोत्सव तथा जानकीजीको डोलासहित जनकपुरधाम नगर परिक्रमा र सन्ध्या आरतीसहितका कार्यक्रम हुने हुँदा महन्त दासले सो कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई सहभागी हुन आग्रहसमेत गरे।
सो अवसरमा मन्दिर प्राङ्गणमा रामलीला र मानस विभूषित नरहरि दासद्वारा राम कथा प्रवचन र प्रत्येक दिन बधाइ तथा मंगल गान पनि हुँदै आएको छ।